भदौ २२, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ स्थित आनन्दनगर टोलमा नवनिर्मित ज्याङछुप छ्योर्तेन स्तूपको प्राण प्रतिष्ठा (ह्रप्ने) तथा समुद्घाटन सम्पन्न भएको छ ।
कुल ६४ लाख रुपैयाँको लागतमा निर्मित उक्त छ्योर्तेनको आइतबार बौद्ध धर्मगुरु रिन्पोछे खेन्पो साङ्गे राङ्ज्युङ र बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्रालयका पूर्वमन्त्री बिमलकुमार ठकुरीले संयुक्त रूपमा उद्घाटन तथा प्राण प्रतिष्ठा गरेका हुन् ।

छ्योर्तेनका निर्माणका लागि बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयबाट २८ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो भने बाँकी ३६ लाख रुपैयाँ स्थानीयवासी, धर्मावलम्बी तथा विभिन्न सहयोगी दाताहरूबाट सङ्कलन गरिएको छ्योर्तेन समितिका अध्यक्ष वाङ्चु लामाले बताए ।

उद्घाटन समारोहमा प्रमुख अतिथि पूर्वमन्त्री विमल ठाकुरीले बौद्ध धर्मको प्रतीकका रूपमा निर्माण गरिएको छ्योर्तेनप्रति स्थानीयवासीले देखाएको अभूतपूर्व एकता, सद्भाव र आर्थिक तथा सामाजिक सहयोगको उहाँले उच्च प्रशंसा गरे । धार्मिक तथा सांस्कृतिक विविधताबीच एकजुट भई यस्ता संरचना निर्माण गर्नु सामाजिक सद्भाव, सहिष्णुता र एकताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै उहाँले यसले समुदायबीच भाइचारा अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।
